Print this page

राजनारायण पाठकमाथि कार्बाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनारायण पाठकमाथि कानुन अनुसार कारवाही हुने बताएका छन्। प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको आयुक्तबाट राजीनामा दिदैँमा पाठक कानूनी कारबाहीबाट उम्किँन नसकिने स्पष्ट पारे।

चमेलिया जलविद्युत् आयोजना अर्न्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२/३३/११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, 'अख्तियारका सदस्यहरु समेत करबाहीबाट उम्किन राजीनामा दिएर भाग्नुपर्ने अवस्थामा छ । तर, कोही पनि कारबाहीबाट उम्कन पाउँदैनन् ।'

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्‍याए । भ्रष्टाचार गर्ने जो सुकै भए पनि कारबाही गर्ने उनले बताए। पाठकको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको थियाे। भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए।

सार्वजनिक संस्थान ऐनअन्तर्गत दर्ता भई सञ्चालनमा आएको उक्त कलेजलाई २०७४ वैशाख २५ मा न्यौपाने समूहले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएपछि विवाद सुरु भएको थियो। यही विवाद मिलाइदिने भन्दै २०७४ भदौ र माघमा गरी न्यौपाने समूहबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडीयोबाट खुलेको छ। सो कलेजसम्बन्धी विवाद संसद्को शिक्षा समितिले हेरिरहेका बेला घुस प्रकरण सार्वजनिक भएको हो।

आयोगले 'पाठकमाथि संविधानको धारा १०१ को उपधारा ८ अनुसार कारबाही प्रक्रिया अघि बढाउने हो कि धारा २३९ अनुसार ?' भन्दै महान्यायाधिवक्ताको कार्यालयसँग राय मागको थियो। महान्यायाधिवक्ताको कार्यालयले धारा १०१ को उपधारा ८ ले महाभियोगबारे मात्रै बोलेको तर धारा २३९ मा सार्वजनिक पद धारण गरेको जो सुकैमाथि पनि छानबिन र कारबाही हुन सक्ने उल्लेख भएको जनाउँदै धारा २३९ मा टेकेर अघि बढ्न आयोगलाई सुझाव दिएको थियो।