Print this page

मकर संक्रान्ति अथवा माघे संक्रान्ति पर्व देशैभर मनाईदै

tarul

माघी पर्व आज देशभरी मनाइदैछ । थारु समुदायको ठूलो पर्व भएपनि अहिले सबै जात समुदायको साझा चाँडजस्तै बनेको छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रबेश गरेको दिन माघ १ गते हिन्दु धर्मावलम्बीहरु मकर संक्रान्ति अथवा माघे संक्रान्ति पर्व देशैभर मनाईदैछ । सोमबार थारु समुदाय माघी मनाउने गर्दछन् ।

माघे संक्रान्तिको अवसरमा परिवारमा सम्पूर्ण सदस्य एकै ठाउंमा भेला भई घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्डा लगाएतका परिकार बनाएर एकआपसमा रमाइैलो गर्दै खाने प्रचलन रहिआएको छ ।माघे संक्रान्तिको अवसरमा देशमा विभिन्न पवित्र तिर्थ स्थलहरुमा मेला पनि लाग्ने गर्दछ । सुदुरपश्चिम सबै जिल्ला र चितवन–तनहुँको संगमस्थल देवघाट, पाल्पा–गुल्मी–स्याङजानको संगमस्थल रिडी, सुनसरीको बराहाक्षेत्र, नुवाकोटको देवीघाट लगायतका नदीहरुमा विहानैदेखि स्नान गर्ने र पूजाआजा गर्नेको भिड लाग्ने गर्दछ ।

थारु समुदायको माघी पनि भोलिबाट शुरु हुन्छ । पश्चिम नेपालको तराई तथा पहाडी क्षेत्रमा बिशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।

प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँड गर्ने गरिन्छ । यो पर्वमा विशेष गरी थारु समुदायले बिहानै उठी नुहाइधुवाइ गरी मान्यजनलाई ढोग गरी आशीर्वाद लिने चलन छ ।

आजको दिन विभिन्न किसिमका परिकार बनाई आफ्ना दिदीबहिनीलाई निश्राउ अर्थात् कोसेली दिने चलन रहेको छ । कोसेलीमा चामल, नुन, दाल, ढिक्री, अनदीको भात, माछा, मासु, लत्ताकपडालगायतका सामान रहेको हुन्छ ।

विवाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँगसँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ । साथै यो पर्वको अवसरमा गाउँमा नयाँ अगुवा अर्थात् वडघर चुन्नेसमेत गरिन्छ ।

माघी पर्वसँगै थारु जातिमा अधिया, बटैया लगाउने चौकीदार गरुवा चुन्ने पनि गरिन्छ । केही समय पहिले मालिकको घरमा काम गर्दा जिल्ला बाहिर र जिल्लामै साहु महाजनको घरमा आफ्ना छोरीलाई कमलरीका रुपमा पठाउने चलन भने पछिल्लो समय हटाइएको छ ।