Print this page

प्रेमीसँग मिलेर आफ्नै श्रीमान्लाई मार्न लगाएपछि...

 वीरगन्ज, फागुन १७ । वीरगन्जमा बुधबार राति व्यापारी उमेश चौरसियामाथि गोली प्रहार गर्ने घटनामा संलग्न चारजनालाई पर्सा प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा उमेशकी श्रीमती प्रियंका चौरसिया, उनका प्रेमी बारा, परवानीपुर–१ का विकेन्द्रकुमार गुप्ता, सोही ठाउँका मनोज गुप्ता र वीरगन्ज–१२, मुर्लीका मुन्ना साह कानु रहेका छन् ।

बुधबार राति भैरहवाबाट घर (वीरगन्ज) फर्कंदै गरेका उमेशमाथि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासपछाडि गोली प्रहार भएको थियो ।उमेश १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा दुबई बसेर फर्केका हुन् ।नेपाल फर्केर धागोको व्यापार थालेका उमेशको हत्या हत्या गरेर विवाह गर्ने योजनाअनुसार विकेन्द्र र प्रियंकाले मनोज गुप्तालाई हत्याको 'सुपारी' दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

उमेश दुबईमा रहेकैबेला विकेन्द्र र प्रियंकाबीच 'अवैध सम्बन्ध' गाँसिएको पाइएको पनि प्रहरीले जनाएको छ ।हत्यामा प्रयोग भएको एउटा पेस्तोल र एउटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।गोली प्रहारबाट घाइते भएका उमेशलाई काठमाडौं लगेर उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको पेट र कोखामा गोली लागेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।उनकी श्रीमती प्रियंकालाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो भने अरु अभियुक्तलाई वीरगन्जबाट पक्रेको हो ।

विवाहपश्चात् श्रीमान् दुबई बस्दै आएको समयमा प्रियंका वीरगन्जको अपोलो अस्पतालमा कार्यरत् सीएमए विकेन्द्रसँग प्रेममा परेको र मनोज गुप्तालाई २५ हजार रुपैयाँमा श्रीमान्को हत्या गर्ने जिम्मा दिएको अनुसन्धानमा खुलेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।

हत्याको जिम्मा लिएका मनोज र प्रियंकाका प्रेमी विकेन्द्रले ११ हजार रुपैयाँमा १२ बोरको एउटा कटुवा पेस्तोल खरिद गरेका थिए ।उमेश एक महिनाअगाडि दुबईबाट फर्केका थिए । उनी काम विशेषले भैरहवा गएकाबेला प्रियंकाले उमेश फर्कने समय र 'लोकेसन'काबारे गोली प्रहार गर्ने मनोजलाई बताएकी थिइन् ।

उमेश भैरहवाबाट फर्केर घर छिर्न लागेकाबेला बुधबार राति साढे ९ बजेतिर प्रियंकाका प्रेमी विकेन्द्रको बा३४प नम्बरको मोटरसाइकलमा चढेर मनोज र मुन्ना साहले उमेशमाथि गोली प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।