Print this page

युरोपा लिगको उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

ars vs che

काठमाडौं, वैशाख २७ । युरोपका दुई ठूला क्लब फुटबल प्रतियोगितामा इंग्लिस क्लबहरुको जगजगी देखिएको छ । लिभरपुल र टोटनह्याम हट्सपरले च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त तय गरेको भोलिपल्टै अन्य दुई इंग्लिस क्लब चेल्सी र आर्सनल पनि युरोपा लिग फुटबलको फाइनलमा पुगेका छन् । 

सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले जर्मन क्लब आईन्त्राच फ्र्याङ्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । पहिलो र दोस्रो लेगका खेलहरु १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । चेल्सीले अब उपाधिका लागि अर्को लण्डन क्लब आर्सनलसँग खेल्नेछ ।

सेमिफाइनलमा स्पेनको भ्यालेन्सियालाई समग्रमा ७–३ ले हराउँदै आर्सनल फाइनलमा पुगेको हो । पहिलो लेगको खेल ३–१ ले जितेको आर्सनलले गएराति भएको दोस्रो लेगमा ४–२ को जित निकाल्यो । चेल्सी र आर्सनलबीचको युरोपा लिग फुटबलको फाइनल खेल यही मे २९ तारिखमा अजरबैजानको बाकुमा हुनेछ ।