Print this page

२०२१ सम्म रोनाल्डो रियल म्याड्रिडमा

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो थप ४ वर्षका लागि रियल म्याड्रिडमा अनुबन्धित भएका छन्। उनको अनुबन्ध २०२१ सम्म लम्ब्याउने विषयमा म्याड्रिड सहमत भएपछि गत सोमबार स्पेनिस क्लबले आफ्नो ३१ वर्षीय स्ट्राइकरसँग नयाँ सम्झौता गर्यो। म्याड्रिडसँग रोनाल्डोको अनुबन्ध २०१८ मार्चसम्म थियो।

बढ्दो उमेरका कारण उनको अनुबन्धलाई लिएर केही शंका उब्जिएको थियो। अब रोनाल्डो ३७ वर्षको उमेरसम्म म्याड्रिडमै रहने छन्। आउँदो फेब्रुअरीमा ३२ वर्षमा प्रवेश गर्न लागेको रोनाल्डोलाई सन् २००९ मा म्याड्रिडले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट किनेको थियो। क्लबसँग नयाँ सम्झौता गरेपछि रोनाल्डोले खुसी व्यक्त गरे। 'यो विशेष दिन पनि हो मेरो लागि, आफ्नो प्रिय क्लबसँग जुडिरहन पाएकोमा,' रोनाल्डोले भनेका छन्–'यो नै मेरो अन्तिम सम्झौता होइन। आगामी ५ वर्षमा मेरो उद्देश्य इतिहास रच्नु हुनेछ। यो जर्सीमा उत्कृष्ट प्रदर्शन गर्नुछ।'

पछिल्लो समय रोनाल्डोको सम्भावित क्लब स्थानान्तरणको हल्ला पनि चलेको थियो। उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) र इङ्ल्यान्डका केही क्लबमा अनुबन्धित हुन सक्ने खबर आएका थिए। तर, म्याड्रिडमै आफ्नो करिअर अन्त्य गर्न चाहेका रोनाल्डोका लागि सोमबारको दिन वास्तवमै सुखद थियो। '१० वर्ष पुरा गर्ने क्रममा अझै मलाई धेरै गर्नुछ। म अझै खेलमा सुधार चाहन्छु,' उनले भने। रोनाल्डोले खेल जीवनको अन्त्य अमेरिकी सकर लिग क्लबमा महंगो रकममा अनुबन्धित हुँदै गर्ने अडकल लगाइरहेका उनका आलोचकलाई पनि निरास पारेका छन्।

३१ वर्षको उमेरमा पनि उनको गजबको शारीरिक क्षमताबाट प्रभावित नहुने सायदै कोही छन्। उनले ४० वर्षको उमेरमा पनि उस्तै क्षमताको फुटबल खेल्ने आँकलन गरिएको छ। रोनाल्डोले गत सिजन म्याड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ४८ खेलमा ५१ गोल गरेपछि म्याड्रिडले च्याम्पियन्स लिगजस्तो प्रतिष्ठित प्रतियोगिता जितेको थियो। हाल उनी बालोन डि'ओरका सबैभन्दा बलियो सम्भावितकर्ता हुन्। २००९ मा म्याड्रिडमा अनुबन्धित भएपछि उनले ३ सय ७१ गोल गरिसकेका छन्। उनी म्याड्रिडका हालसम्मकै सर्वाधिक गोलकर्ता पनि हुन्।