Print this page

जीवन हतारमै चलिरहेछ र हतारमै सम्पन्न गर्नु पर्दछ सवै कुरा -बरिष्ठ साहित्यकार पुडासैनी किशोर

damodar

-बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर

जोसंग पनि मुसुक्क हाँसेर बोल्ने, जोसंग पनि छिट्टै घुलमिल हुनसक्ने, सवैलाई सकेसम्म सहयोग गर्न तम्सिने, राम्रो र सकारात्मक पक्षलाई दिलोज्यान दिएर बढावा गर्ने, खराव काम र व्यवहारलाई खुलेरै विरोध गर्ने स्वभाव छ वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको । वि.सं.२०१९ साल जेष्ठ १८ गते काठमाडौंको जीतपुरफेदीमा जन्मिएका पुडासैनी पेशागत हिसावले महालेखा परीक्षकको कार्यालयका निर्देशक हुन् । तर उनमा पदीय घमण्ड पटक्कै छैन । उनका आफन्तका अनुहारहरु, आंखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम जस्ता कविता सङग्रहहरु नेपाली साहित्य जगतमा चर्चित कृतिहरु हुन् ।

 

अझ उनका यात्राका प्रेमिल तरङ्गहरु, नमेटिएका चित्रहरु मायालु हुम्ला र सिमानाका रङ्ग सिमानाका तरङ्ग जस्ता नियात्रा सङ्ग्रहहरु नेपाली साहित्य वजारमा हटकेक झैं बिक्री भइरहेछन् । समालोचकहरु भन्छन् दामोदरको नियात्राकारिताले नेपाली नियात्रा लेखमा कोशेढुंगा सिर्जना गरेको छ । धर्मको ह्याङ्ओभर नामक उनको दर्शन कृतिले त समाज परिवर्तनको नविन वाटोनै देखाएको छ ।

 

मदन पुरस्कार गुठीले वि.सं.२०७२ मा प्रकाशित कृतिहरुमध्ये उत्कृष्ठ सात कृति छनौट गरेकोमा उनको सिमानाका रङ्ग सिमानाका तरङ्ग पनि परेको छ । उनै वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरसंग साहित्यकार शारदाकुमारी ढुङ्गानाले गरेको वार्ताको केही अंश यहाँ प्रस्तुत छ ।

 

प्रश्न १ः मदन पुरस्कार गुठीले वि.सं.२०७२ सालमा प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ठ सात पुस्तक छनौट गरेकोमा तपार्इंको नियात्रा— सिमानाका रङ्ग सिमानाका तरङ्ग पनि उत्कृष्ठ सात मा परेको छ । त्यसमध्येबाटनै एक सर्वश्रेष्ठ छानिने र मदनपुरस्कार प्रदान गर्ने कुरा गुठीले जनाएको छ । तपाईंको कृतिलेनै मदन पुरस्कार पाउँछ भन्ने हल्ला साहित्यिक जगतमा पनि छ । तपाईको नियात्रा सङ्ग्रहले पाउँनै पर्ने केही आधारहरु ?

उत्तरः मदन पुरस्कार गुठीले गरेको मूल्यांकनलाई म सहर्ष स्वीकार गर्दछ । मेरो कृति ुसर्वश्रेष्ठ कृतिु मा परोस् वा नपरोस् त्यो मेरोलागि मान्य हुनेछ । कुरा रह्यो मेरो नियात्रा कृतिले पाउनु पर्ने आधारको वारेमा । त्यो मैले भन्नु भन्दा पनि मूल्याकनकर्ता, पाठक र समालोचकहरुले भन्ने कुरा हो । कतिपय समालोचक तथा पाठकहरुले नियात्रा अहिले विश्वमा सवैभन्दा वढी पढिने विधा भएको र दामोदरको नियात्रा शैली र विषय विलकुल नवीन ढङ्गको भएकोले यो कृतिले पुरस्कार पाउँनै पर्दछ भनेका छन् । यो कुरा मलाई पनि उचित लागेको छ ।

 

प्रश्न २, यहाँले जीवनमा धेरै साहित्य सिर्जना गर्नु भयो । त्यो क्रम अझै जारी छ । उमेरको हिसावले पनि आधा शताव्दी पार गर्नु भएको छ । सोचे अनुसार पाइँदो रहेछ जीवनमा ?

उत्तरः मानव जीवनको सरदर आयु शयवर्ष मानिएको छ । पच्चीस, तीस वर्षको उमेरसम्म लेखपढमै बित्ने, अलिकति सकृय उमेरमा पेशा, व्यवसाय वा जीवन निर्वाहका काम गराइमै वित्ने र पैसट्ठी सत्तरीको उमेरपछि बुढ्यौलीका असरहरु सामना गर्न पर्ने हिसावले सकृय र नवीन कार्यहरु गर्ने समय मान्छेले कमैमात्र प्राप्त गर्दछ । यति छिटो मानव जीवनमा अलि उल्लेख्य काम गर्न पर्याप्त समयनै पाइँदैन । प्रकृतिको रीतनै यही भएपछि त्यसको लागि छुट्टै समय खोजेर पाइने पनि होइन । जीवन हतारमै चलिरहेछ र हतारमै सम्पन्न गर्नु पर्छ सवैकुरा । जीवन बुझे भन्नेठान्छौं तर बुझेका पनि हुँदैनौं । वास्तविकता र सत्यता बुझियो जस्तो लाग्छ, तर, त्यो यथार्थता भन्दा संभाव्यतातर्फ बढी केन्द्रित हुन्छ । प्राप्यता कहिल्यै पनि पूर्ण हुंदैन । केही पाइयो भने अरु प्राप्तिको भोक जाग्छ । उमेरसंगै मान्छेले धेरै कुराको ज्ञान त हासिल गर्दछ तर उसमा असन्तुष्टी झन, वढ्दै जान्छ । धेरै असन्तुष्टी वढनु भनेको जीवनमा सोचे अनुसार काम पुरा गर्नै नसक्नु पनि हो । असन्तुष्टी वढी हुनु प्राप्तिको स्तर कम हुनु हो । यसो भएन भने सम्वृद्धि पनि हुन सक्तैन जीवनमा । अचेल, यस्तै भएको छ मलाई पनि ।

 

प्रश्न ३ः यतिखेर समाजमा नारीबाद बहुप्रचलित शव्द भएको छ । यही शव्दलाई साथ लिएर नारी पुरुष वीचमा, नारी नारी वीचमा र पुरुष पुरुष वीचमा पनि निकै बहस हुने गरेको छ । नारीबादसंग जोडिएका यस्ता सन्दर्भहरु कस्ता लाग्दछन् यहाँलाई र?

उत्तरः म सिँगो मान्छे, स्वतन्त्र मान्छेको पक्षधर हुँ । अचेल नारीवादीको नाममा जे जति चर्चा हुन्छ त्यो नारीले पुरुषवाट सहनु परेको अन्याय अत्याचारमा केन्द्रित छ । स्वभाविक रुपमा हो कि एक लिङ्गले अर्को लिङ्गलाई शोषण, अन्याय र अत्याचार गर्नु अपराध हो । त्यस अर्थमा नारीबाद को नाममा सम्पूर्ण पुरुषहरुलाई शत्रुवत व्यवहार गर्नु मनासिव होइन । नारी र पुरुष एकले अर्कोको सम्मान गर्नु, सहजिकरण गर्नु र संभावनातिर अघि बढाउने कार्य गर्नु वास्तविक नारीवाद हो । वास्तवमा यसलाई नारीवाद भनिरहन जरुरी पनि छैन । यो भनुञ्जेल दुई लिङगको वीचमा खाडल रहिरहने डर पनि रहन्छ । नारीले नारी भन्ने वित्तिकै सवै ठीक र पुरुष वेठीक भन्ने तर पुरुषले नारी अस्तित्व र शक्तिलाई नस्वीकार्ने परिवेश रहेसम्म समाज अघि वढ्न सक्तैन ।

 

प्रश्न ४ : यहाँले लेख्नु भएको धर्मको ह्याङओभर पढ्दा थाहा हुन्छ कि समाजमा सवै भन्दा ठूलो विकृति धर्मको नाममा सिर्जना भएको छ । नारी र पुरुषको बिभेद पनि धर्मवाटै शुरु भएको हो ?

उत्तर : जसले समाजको कल्याण वा भलो गर्छ त्यो धर्म हो । सामाजिक उन्नतिको लागि धारण गरिएको कुरानै धर्म हो । यथार्थमा धर्मले त्यो गर्न सकेको छैन । यदि कोही सत्य वोल्छ, दोश्रोलाई अकारण सताउंदैन , चोरी, ठगी र भ्रष्टाचार गर्दैन र अनुशासनपूर्वक कार्य गर्छ भने त्यो धार्मिक हो । धर्म र ईश्वरको कुनै सम्वन्ध हुँदैन । धर्म गर्नु भनेको समाजलाई सम्वृद्ध, प्रसन्न र सुखी पार्नको लागि गरिने कार्य हो । तर ईश्वरको नाम जोडेर धार्मिक र अधार्मिक भन्नु बेकार हो । उमेर र शक्ति रहुञ्जेल खराब काम गरेर, ईश्वरलाई पूजा गरेर, दान दक्षिणा चढाएर धार्मिक बन्न खोज्नु अझ बेकार हो । धर्मको फल लिन ईश्वरको जरुरत छैन । धर्म भनेकै सामाजिक नियम पनि हो । काल्पनिक ईश्वर जन्माएर आश र त्राशको भरमा कसैकोलागि ठगि खाने भाँडो वनाउनु धर्म होइन । धर्मलाई वर्ग विशेषको स्वार्थपूर्तिको साधन पनि वनाइएको छ । देवीदेवता, तन्त्रमन्त्र, स्वर्ग नरक आदिको सहारामा नैतिकहीन समाज बनाउने काम पनि भएको छ । तर्क र खोजलाई बिर्को लगाएर धर्मले मानव सिर्जनशीलतालाई पनि धकेलेको छ ।

 

कुनै पनि धर्मले नारीको स्वतन्त्र विकासको लागि जोड दिएको छैन । नारी शोषण गर्ने काम नारीले यो गर्न हुन्छ, यो गर्न हँुंदैन भन्ने धार्मिक अनुशासनवाट शुरु भएको छ । हिन्दु धर्ममा त यो झन् वढेको छ । बाल विवाह, अनमेल विवाह, दाइजो प्रथा, सती प्रथा, छुवाछुत प्रथा, छाउपडी प्रथा जस्ता कुरीतिहरु समाजमा धर्मकै आधारमा फैलिएका हुन् । नारीलाई स्वतन्त्र हुन नदिने, शिक्षादीक्षा ग्रहण गर्न नदिने, आर्थिक उपार्जनमा रोक लगाउने काम पनि धर्मवाटै भएको छ । नारीले कथम्कदाचित बेद सुनिन् भने काँश पगालेर कानमा हालिदिनु भन्ने धार्मिक उन्मादले पनि यो पुष्टि गर्दछ । धार्मिक मान्यतावाट मुक्त बन्न सक्ने हो भने नारीहरु स्वतन्त्र र सिर्जनशील बन्न सक्तछन् ।

 

प्रश्न ५ : तपाई किन लेख्नु हुन्छरु लेखनपछि कस्तो महसुस गर्नु हुन्छ ?

उत्तर : जीवन र जगतको ज्ञान फ¥याक बनाउन म लेख्ने गर्दछु । मेरो लेखनको अभीष्ट संसारलाई राम्रोसंग चिन्नु, त्यसका रहस्यहरु अन्वेषण गर्नु र तिनीहरुलाई कलात्मक र रुचिकर ढंगले अरुलाई भन्नु पनि हो । कसैले लेख भनेर मैले लेखेको होइन र नलेख भनेर मेरो लेखनी रोकिने पनि छैन । मेरो लेखनीले समाजको स्तर माथि उठ्नु पर्दछ भन्ने ठान्छु म । राम्रो रचना लेखिसकेको क्षण हर्षका फुलहरु फुल्न थाल्छन् मेरो मनमा । राम्रो रचना गरेपछि समाज प्रतिको केही जिम्मेवारीहरु पुरा गरें भन्ने पनि लाग्दछ ।

 

प्रश्न ६ : तपाई राष्ट्को एउटा जिम्मेवार संवैधानिक कार्यालयको जिम्मेवार पदमा कार्यरत हुनुहुन्छरु लेखनको लागि पर्याप्त समय कसरी मिलाउनु हुन्छ ?

उत्तरः हो, यहाँले भन्नु भएको जस्तो म सरकारी कार्यालयमा दत्तचित्तका साथ कार्य गरिरहेछु । लेखन मेरो सोख हो । जागिर खाउन्जेल राज्यको काम नै प्राथमिकताका साथ सम्पादन गर्न जरुरी छ । जागिरले फुर्सद मिल्न धेरै गाह्रो छ । अझ सामाजिक काम र घरायसी कामले गर्दा सिर्जनात्मक कामको लागि फुर्सद पाउन अत्यन्तै गाह्रो छ । कुनै रचना गर्न तम्सियो, त्यही वेलामा कुनै न कुनै काम आइपर्दछ । समाजले लेखकको कामकौ वुझ्दैन । उ आफु अनुकुल अलमलमा पारिरहन्छ लेखकलाई । लेखकले ननिदाएर ,विहान वेलुका फुर्सद नलिएर र अलिअलि समय बचाएर केही लेख्नु पर्दछ । यो हाम्रो बाध्यता हो ।

 

प्रश्न ७ : लेखक सधैं जटिलता र पीडामै बाँचिरहनु पर्ने हो त रु लेखन पेशा किन समाजमा मर्यादित बन्न सकेको छैन ?

उत्तर: लेखक सधैं जोमिखपूर्ण परिस्थिति, चिन्तनपूर्ण स्थिति, श्रमपूर्ण अवस्था र सचेततापूर्ण जांगरमा गतिशिल हुन्छ । यस्ता अप्ठ्यारा र जटिलताहरुका कारण लेखन पेशा निकै कठिन पनि हो । अप्ठ्यारा र जटिलताहरुलाई लेखक बाध्यता होइन सोखको रुपमा मान्दछ । त्यसैभएर लेखन पेशा लेखकको लागि आकर्षक र रुचिकर पेशा भएको छ । लेखलाई सोखको रुपमा लिनेहरुले यसमा आइपर्ने अप्ठेराहरुलाई असहज र अप्रिय मान्ने कुरा भएन । यस्ता चुनौतिहरुले त लेखकलाई झन् आनन्द पो दिन्छ । लेखक कुनै गोली बारुद र शक्तिको मातमा ढुल्मुलिएका शासकसंग डराउँदैन । क्षण क्षणमा पर्दा पछाडी नाटक रचेर जी हजुरीका भरमा सोझा सिधा कर्मचारीहरुको हुर्मत लिने र जनताको काम गर्ने बहानामा जनता ठग्ने प्रशासकसंग पनि डराउँदैन । लेखकमा विश्वचेत हुन्छ, नयाँशक्ति, नयाँ सोच, नयाँ समाज, नयाँ संस्कृति, नयाँ आविश्कार , नयाँ मान्छे र नयाँ संसारको बारेमा लेखक सदैव नजिक रहेको हुन्छ । त्यसैवाट लेखक सौन्दर्यशाली र शक्तिशाली सिर्जना विश्वसामु प्रस्तुत गर्दछ । लेखकलेमात्र विश्वलाई सही ढंगले वुझ्दछ र विश्वलाई सही ढंगले अघि वढाउने उपाय अभिव्यक्त गर्दछ । यस हिसावले लेखन पेशा पीडादायक होइन । लेखन पेशा सम्मानित छैन भन्नु सिर्जनाको मर्म वुझ्दै नबुझ्ने अथवा बुझेर पनि बुझ पचाउनेहरुको अफबाह मात्र हो ।

 

प्रश्न ८ः लेखक रचना मार्फत समाजसंग संवाद गर्छ हो ?

उत्तरः मैले माथिनै भनिसकें लेखकले आफूले ग्रहण गरेका कुरा अनुभूतिमा रङ्गाएर लेख्छ । उ आफ्नै लागि पहिले लेख्छ, अन्तत्वगत्वा उसको लेखनीको उद्देश्य समाजसम्म पु¥याउने हो । सिर्जना भनेको रहर मात्र होइन सोच पनि हो । अरुको करले लेखन हुने पनि होइन । लेखकले समाज र संसारसंग धेरै कुरा सिक्छ र अरुको लागि बांड्छ । यसैवाट लेखकको संवाद समाजसंग भइरहेको हुन्छ । लेख्ने समयमा र कल्पनाशीलतामा रङभङिगदा लेखक एकान्तप्रिय बन्छ नै । तर, समाजका कुरा बुझ्न र समाजलाई कुरा बुझाउन लेखक एक्लै बस्नै सक्तैन ।

प्रश्न ९ः कतिपय तपाईंका मित्रहरु र तपाईं नजिक रहेकाहरु दामोदर कोमलमा नौनीजस्तो र कठोरमा ढुङ्गा जस्तो मान्छे हो भन्ने गर्दछन् । तपाईं अलि अराजक किसिमको मान्छे पनि हो ?

उत्तर : मेरा आफन्तहरुले ठीकै भने कि मेरो लागि अनुशासन र स्वतन्त्रता अत्यन्त प्रिय कुरा हुन् । म कसैसंग लोलोपोतो घसेर अनुशासन भङ्ग गर्ने र अर्काको स्वतन्त्रता चोर्ने पक्षमा छैन । मेरो अनुशासन र स्वतन्त्रतालाई पनि अरुले धमिरा नलगाओस् भन्ने पक्षमा म छुं । मान्छेहरुसंग अत्यन्त आत्मीय र शालीन ढङ्गमा व्यवहार गर्नु पर्छ भन्ने पक्षमा म छुँ । तर मेरो आत्मीय र शालीनतालाई कसैले कमजोरी ठान्छ भने उसको अघिल्तिर मेघ झै गर्जिन पनि म पछि पर्दिन । रह्यो अराजकताको कुरा । म सिर्जनामा आफैले नयां बाटो बनाउन जुटेको स्रष्टा हुँ । समाजका काला पक्षहरुलाई उछिन्ने मात्र होइन नयाँ उज्यालो ल्याउने बाटोपनि देखाउन मेरो लेखनी अघि बढेको छ । समाजमा युगौं युगदेखि जाल रचेर मान्छेलाई फसाउन र फाइदा लिन पल्केका मान्छेहरुको म लेखनी मार्फत उछित्तो काड्छु । अरुसंग ुजीु ुहजुरीु नगरी आफ्ना स्वतन्त्र बिचार पस्कनुलाई अराजक ठानेका छन् कतिपयले ।

 

प्रश्न १० : जीवनलाई दुःखै दुःखमा बिताउने कि मस्तीपूर्वक ?

उत्तर :जीवन भनेकै रहस्य, संभावना र आकस्मिकताको संयोग हो । जीवनमा जतिसूकै मोजमस्ती गर्छु भनेपनि दुःख पीडा र अप्ठ्यारोको सामना गर्न नपर्ने मान्छे कोही हुंदैन । जीवन कठिनाईहरुको शृङखला पनि हो । कठिनाईहरुको बीचमा पनि जीवनमा आनन्द र उमङ्ग पाउँन सकिन्छ । त्यसको लागि सकेसम्म बढी लक्ष्यपूर्ण परिश्रम गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । श्रमपछिको प्राप्ति असाध्यै मीठो र आनन्दी हुन्छ । श्रमपछिको प्राप्तिमा असाध्यै खुशी मनाउनु पर्छ, जीवनलाई आनन्दपूर्वक अघि बयाउनु पर्छ भन्ने मलाई लाग्दछ । जीवनमा निराशा होइन आशाको दियो बालेर सकेसम्म मस्ती, सकेसम्म आनन्द र सकेसम्म रमाइलो गर्न सक्नु पर्दछ भन्ने मलाई लाग्दछ । सधैं झोक्राउनु र सधैं निराशा बोकेर जीवन कष्टपूर्ण बनाउनको कुनै अर्थ छैन ।