Print this page

डा.केसीको मागमा समर्थन जनाउँदै टिचिङ अस्पतालमा ओपिडी सेवा बहिस्कार

काठमाडौं, साउन १८ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पताल(टिचिङ) महाराजगन्जका आवासीय चिकित्सकहरुले आजदेखि ओपिडी सेवा बहिस्कार गरेका छन् ।नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको आह्वानमा आवासीय चिकित्सकहरुले आज ओपिडी सेवा बहिस्कार गरेका हुन् ।

आवासीय चिकित्सकहरुले पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा समेत सरिक नहुने घोषणा गरेका छन् । एसोसिएसनले डा. केसीका माग तत्काल पूरा गर्न माग गरेको छ ।शिक्षण अस्पतालमा हाल ३ सय ५० जना आवासीय चिकित्सक छन् । उनीहरुले काम ठप्प पारेपछि बिरामीको उपचारसमेत प्रभावित भएको छ ।यसैबीच १० दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको स्वास्थ्यअवस्थासमेत कमजोर बन्दै गएको छ ।