Print this page

देशैभरका चिकित्सकहरु आजदेखि रिले अनसनमा

१७ चैत, काठमाडौ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै देशैभरका चिकित्सकहरुले मंगलवारदेखि रिले अनसन थाल्ने भएका छन् ।

राजधानीको त्रिवि शिक्षण अस्पतालमा चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाकै नेतृत्वमा मंगलवार अपरान्ह ४ बजेदेखि रिले अनसन सुरु गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

संघले डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै देशभरका शाखाहरुलाई ब्यवस्थित ढंगले रिले अनसन जारी राख्न निर्देशन दिइसकेको छ ।

केसीको आन्दोलनलाई समर्थन जनाउँदै संघमा आवद्ध देशैभरका चिकित्सकहरुले अस्पताल तथा क्लिनिकबाहिरै बसेर ओपीडी सेवा सञ्चालन गरेका थिए ।

संघले डा.केसीको मागप्रति वेवास्ता गरिए देशैभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने योजना बनाएको छ । उनको माग सुनुवाई नभए सम्भवतः बुधवारदेखि नै देशैभर आकस्मिकबाहेकका सवै सेवा ठप्प पार्ने गरी कार्यक्रम ल्याइने संघले जनाएको छ ।

केसीले उठाएको माग सम्बोधन गर्न माग गर्दै सोमवार शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरु तथा विद्यार्थीहरुले र्याली निकालेर प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका थिए ।धर्नामा राजधानीका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

डा. केसीले थप निजी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नहुने, नयाँ चिकित्सा शिक्षा नीति, स्वास्थ्य क्षेत्रमा भएका अनियमितताको छानविन, विगतमा आइओएमलाई बाइपास गरेर फ्याकल्टी बोर्डको निर्णयविरुद्ध अनुगमनमा जाने र पूर्वाधार पुग्यो भनेर फर्जी रिपोर्ट दिने व्यक्तिहरुमाथि पनि तुरुन्त छानविन तथा कारवाही गर्नुपर्ने लगायतका १० बुँदे माग राख्दै नौ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

केसीको आन्दोलनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले एकयवद्धता जनाएका छन् भने सरकारले शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र मुख्य सचिवलाई समस्या समाधानका लागि पहल गर्न जिम्मेवारी दिएको छ ।